काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको समान्य लक्ष्य दिएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।
कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।
कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए ।
यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो । सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।
कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । तर, मध्ये क्रममा आएका दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोड्दै इनिङ्स उकासेका थिए ।
यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे ।
कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २/२ विकेट लिए ।