काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । र, ओपनरद्वय कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमान साझेदारी गरेका छन् ।
कप्तान पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । पहिलो विकेटको रुपमा कप्तान पारस २८ रनमा आउट भए । यस्तै ज्ञानेन्द्र २३ रनमा आउट भए ।
यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो ।
सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । तर, अहिले दुवै खेलाडी टिममा रहेका छैनन् ।