एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबलको २२ औं संस्करण जाडो मौषममा आयोजना हुने भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार २२ औं संस्करणको 'कतार विश्वकप' जाडो मौषममा गर्ने निर्णय गरेको हो ।
यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो । फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, रुसमा जारी २१ औं संस्करणको विश्वकप दौरान बसेको फिफाको बैठकले सन् २०२२ मा हुने कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको हो । योसंगै फिफा विश्वकप फुटबल पहिलोपटक जाडो मौषममा हुने भएको छ ।
फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउदै विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण जाडो मौषम रोजिएको फिफाले जनाएको छ । यसअघि कतारमा निकै गर्मी हुने कारण खेलाडीले खेल्न नसक्ने हुँदा कतार विश्वकप सार्नुपर्ने आवाज उठिरहेको थियो ।
यता, कतारले भने गर्मी महिनालाई मध्यनजर गर्दै खेलाडीलाई खेल्न सहज हुने उच्च प्रविधियुक्त रंगशाला निर्माण गर्ने बताउदै आएको थियो । विश्वकपको लागि कतारले अत्याधुनिक रंगशालाको निर्माण कार्य पनि सुरु गरिसकेको छ । सन् २०१० मा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएबाटै कतारले उच्च प्रविधियुक्त रंगशाला निर्माण सुरु गरेको थियो ।
यस्तै कतार विश्वकपमा सम्भवत ४८ राष्ट्रले खेल्न सक्ने समेत बताईएको छ । तर, फिफाले यसलाई छलफलमा राखेको जनाएको छ । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले खेल्ने छन् । अघिल्ला विश्वकपमा ३२ राष्ट्रले मात्र खेल्दै आएका थिए ।