एजेन्सी । घरेलु टोली जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले फराकिलो जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले जिम्बावेलाई २०१ रनले हराएको हो ।
बुलावायोमा पाकिस्तानले दिएको ३०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ३५ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । जिम्बावेका लागि रायन मुर्रेले अविजित ३२ तथा तरीसै मुसाकाण्डाले २१ रन जोडे ।
त्यस्तै चामु चिभाभाले २० रन जोडेपनि अन्य ब्याट्सम्यान पाकिस्तानी बलरसामु निरिह बनेका थिए । पाकिस्तानका शादब खानले ४ विकेट लिदा फहीम अस्राफ र उस्मान खानले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३०८ रनको उच्च योगफल तयार पारेको थियो । पाकिस्तानको लागि इमाम उल हकले १२८ रनको शतकीय पारी खेले । यस्तै फखर जमानले ६० रनको अर्धशतकीय पारी खेल्दा आसिफ अलीले ४६ रन जोडे ।
पाकिस्तानको उच्च स्कोरमा बाबर अजमले ३० र सोयब मलिकले २२ रन बनाए । जिम्बावेका टेण्डाई चतरा र टिरिपानोले समान २ – २ विकेट लिए ।
यो जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको एकदिवसीय सिरिजमा १ – ० ले अग्रता बनाएको छ । जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेको थियो ।