काठमाडौं । प्रदेश नम्बर ५ सरकारले नेपाली राष्ट्रिय टोली, यू-१९, पूर्व राष्ट्रिय खेलाडी र फिजियोलाई नगदसहित सम्मान गरेको छ ।
बुटवलमा सोमबार आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले उनीहरुलाई जनही १० हजार र सम्मान पत्रले सम्मानित गरेको हो ।
सम्मानित हुनेमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, बसन्त रेग्मी र रोहित कुमार पौडेल रहेका छन् ।तर, आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि सिंगापुरमा रहेको कारण तीनै जना खेलाडी उपस्थित भएनन् ।
यस्तै यू-१९ टोलीका सदस्य सागर ढकाल र कुशल मल्ल रहेका छन् । त्यस्तै पूर्व राष्ट्रिय टोलीका सदस्य शक्ति गौचन र यू-१९ राष्ट्रिय टिमका फिजियोथेरापिस्ट बिक्रम न्यौपाने पनि सम्मानित भए ।
अन्तराष्ट्रिय प्रतियोगितामा नेपालबाट खेल्दै खेलकुद विकासमा योगदान पुर्राएको भन्दै सरकारले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने सबै प्रदेश नम्बर ५ का बासिन्दा हुन् ।
उनीहरुलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रि सुदर्शन बरालले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।