काठमाडौं । आयोजक सिंगापुरले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गर्दै सिंगापुरले विजयी सुरुवात गरेको हो ।
इण्डियन एसोसियसन ग्राउण्डमा सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनायो ।
कतारका लागि कप्तान तमोर साजदले सर्वाधिक ३४ रन जोड्दा मोहमद रिज्लानले अविजित ३३ रन बनाए । यस्तै फैसल जाबेदले २९ र मोहमद तानभिरले २६ रन बनाए ।
सिंगापुरको जनक प्रकास र अम्जाब महबुबले समान ३/३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७ रन बनाए । यस्तै टिम डाभिडले ३८, मनप्रित सिंहले ३४ र रोहण रंगराजनले ३२ रन बनाए ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
एसिया फाइनलमा नेपालले भने मंगलबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।