काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शनिबार) सिंगापुर प्रस्थान गर्दैछन् ।
मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जाने कार्यक्रम रहेको छ । प्रतियोगिताको लागि नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो ।
मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी क्रिकेट सिरिज समेत खेलेको थियो । उक्त सिरिज नेपालले 'क्लिन स्विप' गरेको थियो ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको यस एसिया फाइनल जुलाई २२ देखि २८ सम्म हुनेछ ।
एसिया फाइनलमा नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।
एसिया फाइनलमा नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् ।
एसिया फाइनलमा नेपाल उपाधि दाबेदार टिम हो । यस फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो । र, नेपाल उपाधि जित्दै ग्लोबल छनोटमा पुग्न चाहन्छ ।