काठमाडौं । राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटमा बजाज खडक वारियर्सले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा वारियर्सले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो ।
पब्लिक विन्देश्वरी मैदानमा थन्डर्सले दिएको १०२ रनको लक्ष्य वारियर्सले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । तर, वारियर्सले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । १७ ओभरमा ६ विकेट गुमाएर ९९ रन जोडेको वारियर्सलाई २ ओभरमा ३ रन जोड्न निकै हम्मे हम्मे परेको थियो । थन्डर्सका श्रवन यादबले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिएपछि खेल रोमान्चक बनेको थियो।
अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा थन्डर्सका सन्दिप ढुंगानाले कुनै पनि रन नदिएपछि खडक वरियर्स दबाबमा परेको थियो। अन्तिम ओभरमा बलिङ्ग गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल अझ रोमान्चक स्थितिमा पुगेको थियो । तर,उपेन्द्र रोयले तेस्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै टिमलाई रोमान्चक जित दिलाए ।
खेलमा म्यान अफ द म्याच समेत चुनिएका वारियर्सका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए । उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए। म्यान अफ द म्याच चुनिएका यादबले १ हजार ५०० प्राप्त गरे ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। थन्डर्सको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए । वारियर्सका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट हात पारे।
प्रतियोगिताको पहिलो दिन बिहिबार बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो।