काठमाडौं । घरेलु टोलि मलेसियाविरुद्व हात पारेको टी–ट्वान्टी सिरिज नेपालले बाढी पहिरो प्रभावितलाई समर्पित गरेको छ ।
नेपालले आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै सिरिज क्लिन स्विप गरेको थियो । जुन टी-ट्वान्टी सिरिजमा नेपालको ऐतिहासिक 'क्लिन स्विप' हो ।
उक्त सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सामाजिक संजाल फेसबुकबाट जित बाढी पहिरोमा प्रभावितहरुलाई समर्पित गरेका बताए ।
‘हामीले केहि दिनमा राम्रो जित पाएका छौँ । सबैको ठूलो योगदान रह्यो,' कप्तान पारसले फेसबुकमा लेखेका छन्, ‘समर्थनका लागि तपाइँहरुलाई धेरै धन्यबाद । हाम्रो जित बाढी पहिरोबाट प्रभावितहरुमा समर्पित गर्दछौँ । जय नेपाल ।’
पछिल्लो केहि दिनयता निरन्तर परेको वर्षाले नेपालका धेरै मानिसहरु प्रभावित भएका छन् । तराईको अधिकास क्षेत्र डुबानमा परेका छन् ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपालले मलेसियासँग सिरिज खेलेको हो । अब नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।