काठमाडौं । मलेसियाविरुद्व दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन् । अनवर अरुदीनलाई ७ रनमा आउट गरेका सन्दीपले कप्तान अहमद फैजलाई समेत १७ रनमा आउट गरेका छन् ।
उनले अरुदीनलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । त्यस्तै अहमदलाई अबिनाश बोहराको हातबाट क्याच आउट गराउँदै पोविलियनको बाटो देखाए ।
यसअघि नेपालका सोमपाल कामीले दुई र अबिनाश बोहराले एक विकेट लिएका थिए ।
सोमपालले दोस्रो विकेटको रुपमा मलेसियाका कप्तान शफीक शरीफलाई आउट गरेका थिए । उनी १० रन बनाएर रोहित पौडेलको हातबाट क्याच आउट भए ।
यसअघि सोमपालले पहिलो विकेटको रुपमा शैयद अजीजलाई आउट गरेका थिए । आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका अजीजलाई सोमपालले ५० रनमा आउट गरेका थिए ।
नेपालका लागि पहिलो विकेट अबिनाश बोहराले लिए । उनले विरनदीपन सिहलाई २३ रनमा आउट गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।