काठमाडौं । मलेसियाविरुद्व दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले अनवर अरुदीनलाई ७ रनमा आउट गराएका छन् । अरुदीन सन्दीपको बलमा कप्तान पारस खड्काको हातबाट क्याच आउट भए ।
यसअघि नेपालका सोमपाल कामीले दुई र अबिनाश बोहराले एक विकेट लिएका थिए ।
सोमपालले दोस्रो विकेटको रुपमा मलेसियाका कप्तान शफीक शरीफलाई आउट गरेका थिए । उनी १० रन बनाएर रोहित पौडेलको हातबाट क्याच आउट भए । यसअघि सोमपालले पहिलो विकेटको रुपमा शैयद अजीजलाई आउट गरेका थिए । आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका अजीजलाई सोमपालले ५० रनमा आउट गरेका थिए ।
नेपालका लागि पहिलो विकेट अबिनाश बोहराले लिए । उनले विरनदीपन सिहलाई २३ रनमा आउट गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।