काठमाडौं । नेपालविरुद्वको दोस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा मलेसियाले १० ओभरको खेल सकिदाँ दुई विकेट गुमाएको छ । सुरुवातबाटै निकै आक्रमक देखिएको मलेसियाकाको पहिलो विकेट अबिनाश बोहरा र दोस्रो विकेट सोमपाल कामीले लिएका छन् ।
अबिनाशले भिरन दीप सिहलाई २३ रनमा आउट गरे । सोमपालले अर्धशतक पुरा गरेका सैयाद अजीजलाई पोविलियन फर्काए ।
१० ओभरको खेल सकिदाँ मलेसियाले दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।
सीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।