काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालले दोस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसियालाई जितका लागि १७४ रनको फराकिलो लक्ष्य दिएको छ ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो ।
नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए ।
योसँगै विनोद टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।
आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।