काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ ।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । मलेसियाले सुरुवातमा बलिङ गर्नेछ ।
नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । प्रदिप ऐरी र बसन्त रेग्मी टिमबाहिर रहेका छन् । यस्तै पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका छन् ।
दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।
पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
कप्तान पारसले अविजित रहदै ७६ रनको अर्धशतकिय ईनिङ्स खेलेपछि नेपालले सहज जित निकालेको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।
यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले एक विकेट हात पारेका थिए ।
पहिलो खेलमा ओपनरको रुपमा बिस्फोटक ब्याटिङ गरेका कप्तान पारस खड्का सहितको प्लेईङ सेटले दोस्रो खेलमा समेत अवसर पाउने सम्भावना छ ।
पहिलो खेलमा पारस सहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित पौडेल र ललित राजवंशीले प्लेईङ सेटमा स्थान बनाएका थिए ।
आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।
आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर नेपाल सामु रहेको छ ।
सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–ट्वान्टी सिरिज खेलेको हो ।