काठमाडौं । कप्तान पारस खड्का चम्किएपछि घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज निकालेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्यो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितका कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।
ओपनरका रुपमा आएका कप्तान पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।
कप्तान सुवास खकुरेलले बंगलादेशमा भएको सन् २०१४ को विश्वकपमा बनाएको ५६ रनको कीर्तिमान भङ गरे । सुवासले अफगानिस्तानविरुद्ध उक्त रन जोडेका थिए ।
नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाए । ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।
मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
योसंगै नेपालले घरेलु टोलिविरुद्धको २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले आइतबार दोस्रो खेल खेल्नेछ ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।
तस्बीर : मलेसिया क्रिकेट