काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग पहिलो टी-ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको हो । यसअघि ओपनर प्रदिप ऐरी ८ रन बनाएर आउट भएका थिए ।
१० ओभरको खेल सकिदा नेपालले २ विकेट गुमाएर ५० रन बनाएको छ ।
नेपालका कप्तान पारस खड्का ३३ रन बनाएर खेलीरहेका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपालले मलेसियासँग आइतबार दोस्रो टी–ट्वान्टी खेल्नेछ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।