काठमाडौं । मलेसियाविरुद्वको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । कोलालाम्पुरस्थित किनरारा ओभलमा घरेलु टोली मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
पारस खड्का कप्तानीको नेपालकाे प्लेइङ सेटमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित पौडेल र ललित राजवंशी छन् ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।
मलेसिया र नेपाल : हेड टु हेड
आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो।
माघमा भएको साे सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो । नेपाल मलेसियाविरुद्धको सिरिज जित्दै आईसीसीको वरियतामा आफुलाई सुधार गर्न चाहन्छ ।
हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।