काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियासँग आज (शनिबार) पहिलो टी–ट्वान्टी खेल खेल्दैछ ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ ।
नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ । दुई खेलको सिरिजपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछन् ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।
मलेसिया र नेपाल : हेड टु हेड
आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो।
माघमा भएको उक्त सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो । नेपाल मलेसियाविरुद्धको सिरिज जित्दै आईसीसीको वरियतामा आफुलाई सुधार गर्न चाहन्छ ।
हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।
सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । उक्त खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए ।
१२२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा १०० रनमा समेटिएको थियो । खेलका म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।
यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी-ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनायो । नेपालका महबुब आलमले सर्वा्धिक ३१ रन बनाए ।
यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरे । ११२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
सन् २०१३ को एसीसी टी(ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६३ बनायो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाए ।
जवाफी ब्याटिङमा आएको मलेसिया पुरा ओभर खेल्दै ९ विकेट हुमाउँदा १४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।
अन्तिम पटक नेपाल र मलेसियाबीच सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।
मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा १०० रनमा समेटियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारे ।
१०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।