काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
बर्मिघममा घरेलु टोलीविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, अष्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले अर्धशतक बनाएका छन् ।
खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि स्मिथले ७२ बलमा ५० रन पुरा गरेका हुन् । स्मिथ अविजित रहेका छन् ।
मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियाका लागि स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गरे । केरी ४६ रनमा आउट भए । स्मिथ र केरीको साझेदारीले अष्ट्रेलियाको इनिङ्स सम्हालिएको छ ।
यसअघि अष्ट्रेलियाका डेभिड वार्नर ९ रनमा आउट हुँदा कप्तान आरोन फिंच सुन्य रनमा आउट भए । पिटर हान्ड्सकम्प्ब ४ रनमा पेभेलियन फर्किए ।
अष्ट्रेलियाले २८ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ११८ रन जोडेको छ ।
इंग्ल्याण्डका आदील रशिद र क्रिस वोक्सले २/२ विकेट लिए । यस्तै जोफ्रा आर्चरले १ विकेट लिए ।
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस्तै घरेलु टोली इंग्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ ।
अष्ट्रेलियाले अहिलेसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको ईतिहास छ ।
इङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।
दुईबीचको विजेताले न्युजिल्याण्डसँग खेल्नेछन् ।