काठमाडौं । एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) स्वदेश फर्कदै छ ।
मलेसियामा भएको प्रतियोगिताको उपाधि जितेको नेपाली टिम राति साँढे ९ बजे नेपाल आईपुग्न लागेको हो ।
उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । उपाधि जितेसँगै नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ ।
यू–१९ टिमका कप्तान रोहित पौडेल र पवन सरार्फ भने मलेसियामै रहेर नेपालको सिनियर टिमसंग जोडिनेछन् ।
नेपालको सिनियर राष्ट्रिय टिम सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि मलेसियामा रहेको छ ।
नेपाली टिम मलेसियामा रहेर जुलाई १३ र १४ मा दुई टी–ट्वान्टी सिरिज खेल्नेछ । रोहित र पवन मलेसियामै रहेको सिनियर टिममा गएको युवा टिमका मुख्य प्रशिक्षक विनोद दासले बताए ।
बाँकी खेलाडी तथा अफिसियल भने राति साँढे ९ बजे काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्नेछन् ।