काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले श्रीलंकामा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा टेष्ट राष्ट्रलाई चुनौती दिने बताएका छन् ।
मलेसियामा सम्पन्न एसीसी यू-१९ इन्टर्न रिजन क्रिकेटको उपाधि जितेपछि बोल्दै कप्तान रोहितले टेष्ट राष्ट्रविरुद्ध उत्कृष्ट गर्ने बताए ।
मंगलबार भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । र, नेपाल श्रीलंकामा हुने यू-१९ एसिया कपमा छनोट भएको थियो ।
'हामीले अब निकै बलिया टिमसँग प्रतिष्पर्धा गर्नेछौं । त्यसैले हामीले सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं,' रोहितले भने, 'हाम्रो लक्ष्य भनेको टेष्ट राष्ट्रसँग उत्कृष्ट क्रिकेट खेल्नु हुनेछ ।'
अर्को महिना हुने एसिया कपमा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, कुवेत र युएईले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै कप्तान रोहितले खेलाडीले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दा उपाधि जित्न सफल भएको बताए ।
'प्रतियोगिता भर सबै खेलाडीले बलिङ,ब्याटिङ र फिल्डिङमा राम्रो योगदान गरे । प्रतियोगिता भर सागरले उत्कृष्ट प्रदर्शन गरे र हामी निकै खुसी छौं,' कप्तान रोहितले भने ।
रोहितले योजना अनुसार बलरहरुले हङकङलाई सय रन भित्र अलआउट गरेको तथा रित र पवनको सुरुवाती आक्रमणले लक्ष्य भेट्टाउन सहज हुँदा उपाधि जितेको बताए ।