एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको सेमिफाईनल खेलमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ्ग रोजेको छ । म्यानचेष्टरकाे ओल्डट्राफोर्डमा भारतविरुद्वको खेलमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको हो ।
दुवै टोलीले एक परिवर्तन गरेका छन् । भारतले कुलदिप यादवको स्थानमा युजभेन्द्र चाहाललाई टिममा ल्याएको छ । यस्तै न्युजिल्याण्डले टिम साउथीको स्थानमा लोकी फर्गुसनलाई टिममा समावेश गरेको छ ।
आजको खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।
विश्वकप इतिहासमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन् । बर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।
विश्वकपको सेमिफाइनलमा पहिलो पटक खेल्न लागेपनि दुई टोलीबीच यू-१९ विश्वकपको सेमिफाइनलमा भने प्रतिस्पर्धा गरेका थिए ।
सन् २००८ मा भएको उक्त यू-१९ विश्वकपको सेमिफाइनलमा भारतले बाजी मारेको थियो । र, फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि नै जितेको थियो ।
संयोग, उक्त यू-१९ विश्वकपको सेमिफाइनलमा रहेका दुवै देशका कप्तानहरु अहिले राष्ट्रिय टोलीको कप्तानी गरिरहेका छन् । न्युजिल्याण्ड केन विलियम्सनको नेतृत्वमा रहेको थियो भने भारत विराट कोहलीको कप्तानीमा रहेको थियो ।
हेड टु हेडमा को बलियो ?
हालसम्म एकदिवसीय क्रिकेटमा दुई राष्ट्रबीच १०५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा भारत हाबी रहेको देखिन्छ ।
भारतले ५५ खेलमा जित हात पारेको छ भने न्युजिल्याण्डले ४५ खेल जितेको छ । १ खेल बराबरी भएको छ भने १ खेल नितिजाविहीन भएको थियो ।
विश्वकपको हेड टु हेडमा भने भारत भन्दा न्युजिल्याण्ड अघि रहेको छ । हालसम्म ८ पटक विश्वकपमा आमने सामने भएका छन् । जसमा न्युजिल्याण्ड ४ पटक भारत माथि हाबी भएको छ । भारतले ३ खेल जित्दा १ खेल नतिजाविहीन भएको थियो ।