काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी विश्वकपको छनोट यात्रा सुरु भएको बताएका छन् । सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाईनलको लागि मलेसिया उड्नु अघि कप्तान खड्काले सो कुरा बताएका हुन् ।
‘विश्वकपको छनोट खेल्न पुगिने भएकाले कुनैपनि टिम र खेलाडीलाई सजिलो लिएका छैनौ । विश्वकपको यात्रा यहीबाट सुरु हुन्छ ।’ उनले भने ।
उनले टिम र खेलाडीको रुपमा प्रतियोगितामा केन्द्रित रहेको बताउँदै उनले आफुहरुमा फेरी विश्वकप खेल्ने सपना रहेको उल्लेख गरे ।
‘विश्वकप सम्मको यात्रा सजिलो हुने छैन । सबै विश्वकप छनोट पुग्ने बाटोको रुपमा प्रतियोगितालाई लिएका छन् ।’ उनले भने, ‘बेन्च बलियो बनेको छ । टिममा स्वस्थ प्रतिस्पर्धा छ । यसले देशको क्रिकेटको नतिजामा फरक पार्नेछ ।’
सिंगापुरमा हुने प्रतियोगिता अघि नेपाली टिमले मलेसियामा जुलाई १३ र १४ मा दुई वटा टी–ट्वान्टी सिरिज खेल्नेछ । लगत्तै नेपाली टिम मलेसियाबाट सिंगापुर प्रस्थान गर्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको तयारी राम्रो रहेको बताउँदै खेलको अवस्था अनुसारको योजना बनाउने बताए ।
‘विकेट र कप्तानको निर्णयमा खेलाडीको छनोट हुनेछ । मैदानमा गएपछि कप्तानमा सबै निर्भर रहनेछ ।’ उनले भने, ‘हरेक खेलाडीको जितमा दुई खेलाडी महत्वपुर्ण हुन्छ । खेलमा त्यही खेलाडीको खोजी गरिनेछ ।’
सिंगापुर जाने खेलाडी तथा अफिसियललाई राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले बिदाई गरेका थिए । उनले राम्रो प्रशिक्षकको साथ पाएको नेपाली टिमले प्रतियोगितामा राम्रा प्रर्दशन गर्ने आशा ब्यक्त गरे ।
नेपाली टिम आजै (मंगलबार) मलेसिया प्रस्थान गर्नेछ ।
प्रतियोगिताको लागि नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवालको नेतृत्वमा प्रशिक्षण गरेको थियो । करिब १५ दिन त्रिवि मैदानमा अभ्यास गरेको नेपाली टोलीले त्यसबीचमा केहि दिन विश्राम गरेको थियो ।
नेपालले प्रतियोगिताको लागि प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरीसकेको छ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल कतारसंग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
अविनाश बोहरा
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी
वैकल्पिक खेलाडी :
कुशल भुर्तेल
सुशन भारी
आरिफ शेख
जितेन्द्र मुखिया