काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाली बलर चम्किदा हङकङको इनिङ्स ध्वस्त बनेको छ ।
नेपालविरुद्ध हङकङले २७ ओभरको खेल सकिदा ६ विकेट गुमाएर मात्र ५६ रन जोडेको छ । हङकङ आदित गोरावाराले २४ तथा कुह्लान चल्लुले १९ रन बनाए ।
नेपालका सागर ढकाल एक्लैले ५ विकेट हात पारिसकेका छन् । यस्तै तिलक राज भण्डारीले १ विकेट लिएको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।
उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।