काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगिसकेको छ ।
वर्षाले प्रभावित खेलमा हङकङले दिएको २४८ रनको लक्ष्यसहित सिंगापुरले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।
वर्षाले खेल रोकिनु अघि सिंगापुरले २८ ओभर ३ बलमा ५ विकेट गुमाएर ९७ रन जोडेको थियो । त्यसपछि खेल सुचारु भएन र डिएलमा हङकङ विजयी भयो ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो ।
फाइनल खेल मंगलबार हुनेछ । उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।