काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले भोलि (सोमबार) आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र घरेलु टोली मलेसियाको सामना गर्नेछ । र, मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह 'ए' मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो ।
साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।
समूह चरणमा नेपालले २ खेलमा २ जित निकालेको थियो । मलेसियाले ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । समूह 'बी' मा रहेको मलेसियाले थाईल्याण्ड र भुटानलाई पराजित गर्दा हङकङसँग हार व्यहोरेको थियो ।
हेड टु हेडमा को बलियो ?
यू-१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।
नेपाल र मलेसियाबीच पहिलो पटक सन् २००५ मा एसीसी यू-१९ कपमा भेट भएको थियो । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो ।
यस्तै सन् २००७ मा भएको एलिट कपमा नेपाल ५ विकेटले विजयी भएको थियो । सन् २०१३ मा एसीसी यू-१९ एलिट कपको समूह चरणमा ७ विकेटले जित निकालेको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
सन् २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५३ रनले विजयी भएको थियो । सन् २०१६ को यू-१९ एसिया कपमा नेपालले मलेसियामाथि १ विकेटको रोमान्चक जित दर्ता गरेको थियो ।
यस्तै सन् २०१७ को यू-१९ इस्टर्न रिजनमा नेपालले मलेसियालाई १० विकेटले हराएको थियो । त्यतै सन् २०१७ को यू-१९ विश्वकप छनोटमा नेपालले मलेसियासँग २ पटक प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
पछिल्लो पटक नेपालले २ महिना अघि यू-१९ विश्वकप छनोटमा मलेसियासँग खेलेको थियो । उक्त खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।