एजेन्सी । कोही यसै महेन्द्र सिंह धोनी बन्न सक्दैन, त्यसका लागि आवश्यक पर्छ एक मौकाको । एक विश्वासको र विश्वास गर्ने एक ब्यक्तिको । यो सबै धोनीलाई एक कप्तानले दिएका थिए, जसले टिम ईन्डियालाई लडेर पनि जित्न सिकाएका थिए । ती कप्तान थिए, सौरव गांगुली ।
गांगुलीनै ती ब्यक्ति थिए, जसले धोनीलाई भारतीय क्रिकेटमा राज गर्नका लागि मौका दिएका थिए ।
सन् २००४ डिसेम्बर, धोनीलाई बंगलादेशविरुद्वको वान डे सिरिजमा भारतीय टिमबाट सहभागी गराईएको थियो । उनी करियरको पहिलो खेलमा पहिलो बलमै आउट भएका थिए । त्यसपछि उनले सुरुवाती तीन खेलमा खासै केही गर्न सकेनन् । उनले तीन खेलमा मात्र १२ रन बनाएका थिए । चार खेलमा असफल भएपछि धोनीलाई अब टिम बाहिर परिने डरले सताएको थियो ।
अबको भिडन्त विशाखापटनममा पाकिस्तानविरुद्व रहेको थियो । र टिमका कप्तान सौरव गांगुलीको दिमागमा अरु केही चलिरहेको थियो । उनी धोनीबाट निकै प्रभावित थिए । उनले सो खेलमा धोनीलाई आफुले ब्याटिङ्ग गर्ने तेस्रो नम्बरमा मैदान पठाएका थिए । यसमा धोनीले धुवाधार ब्याटिङ गरे । धोनीले १ सय ४८ रन बनाए । योसंगै धोनी पहिलो यस्ता भारतीय विकेट किपर बने, जसले वान डेमा शतक प्रहार गरेका थिए ।
खेल लगत्तै धोनीले भनेका थिए, ‘यो मेरो लागि गर वा मरको स्थिती थियो । यो मेरो पाँचौ खेल थियो । यदी मैले यस खेलमा राम्रो गर्न नसकेको भए चयनकर्ताले मलाई बाहिर राखिदिने थिए । शतक प्रहार गरेपछि कम्तिमा पनि अब १० खेल खेल्नेछु ।’
यो खेल भारतले ५८ रनले जितेको थियो । र धोनी ‘म्यान अफ दी म्याच’ चुनिएका थिए ।
धोनीलाई सो खेलमा पठाउने निर्णय भारतीय टिमका कप्तान सौरव गांगुलीले गरेका थिए । गांगुलीले आफुले जोखिम मोलेर धोनीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए ।
खेलपछि गांगुलीले भनेका थिए, ‘मैले उसको ब्याटिङ देखेको थिए । उनी ईस्ट जोनका लागि वान डे खेलिरहेका थिए । मलाई लागेको थियो, उसको आक्रमक शैलीका लागि एक ठुलो मौकाको आवश्यकता छ । उसलाई हामीले ब्याटिङमा पठायौ र यसबाट धोनीको आत्मविश्वास समेत बढ्यो । र पाकिस्तानलाई समेत हरायौ ।’
गांगुलीले यो पनि भने, ‘जब धोनी २००४ मा टिममा आएका थिए, उनलाई सुरुवाती दुई खेलमा सातौ नम्बरमा ब्याटिङ गर्न पठाईएको थियो ।
पाकिस्तानविरुद्व टिमको घोषणा हुदाँ समेत धोनीको नाम सातौं नम्बरमा रहेको थियो । त्यो समय म कोठामा बसेर न्युज हेर्दै सोचिरहेको थिए, उनलाई एक खेलाडी कसरी बनाउँ ? मैले उनमा रहेको क्षमता देखिरहेको थिए । भोलीपल्ट हामीले टस जित्यौ र धोनीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाउने योजना बनाए । त्यसपछि हेरौ, जे हुन्छ, सो हुन्छ ।’
गांगुले भने, ‘धोनी बसिरहेका थिए । उनलाई थाहा थियो उनी सातौ नम्बरमा ब्याटिङ्ग गर्न जानेछन् । म उनको नजिक गएर तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाए । तब उनले फर्किएर मलाई भने, अनि तपाई ? मैले भने, म चौथो नम्बरमा जानेछु ।’
एउटा रमाईलो संयोग के भने, धोनीले गांगुलीको कप्तानीमा अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका थिए । र गांगुलीले विश्व क्रिकेट करियरबाट बिदा लिदाँ अन्तिम खेल धोनीकै कप्तानीमा खेलेका थिए । गांगुलीको सम्मानमा धोनीले उनलाई टिमको कप्तानी गर्न आग्रह गरे । गांगुलीले समेत धोनीको सो प्रस्तावलाई स्विकार गरेका थिए ।
गांगुलीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मैले केही बर्षदेखि यस्ता खेलाडीको खोजीमा थिए, मलाई धोनी जस्तो दबाबको क्षणमा समेत शान्त हुने खेलाडी आवश्यक थियो । साथै जसमा एक्लै पुरै खेललाई मात्र होईन पुरै परिणामलाई समेत बदल्ने क्षमता होस । सन् २००४ मा मेरो ध्यान धोनीमा थियो । उनी यस्ता खेलाडी थिए, जसमा क्षमता र प्रतिभा गज्जबको थियो । पहिलो दिनमै म धोनीबाट प्रभावित भएको थिए ।’
धोनी जब भारतीय टिममा विकेट किपरको रुपमा सहभागी भए, तब दीप दास गुप्ताले टिमको विकेटकिपिङ गरिरहेका थिए । तर उनको ब्याटिङ धोनीको जस्तो थिएन । एक समय यस्तो थियो, जो दीप दास गुप्तानै टीमको विकेट किपर हुनुपर्छ भन्ने मान्यता राख्थ्यो । अर्को पक्ष यस्तो थियो, जसलाई धोनीको ब्याटिङले ठुलो प्रशंसक बनाईदिएको थियो ।
छनोटकर्ताका पुर्व प्रमुख किरण मोरेले एक पटक भनेका थिए, धोनीको छनोटलाई लिएर छनोटकर्ताबीच झगडा समेत भएको थियो । पुर्व क्रिकेटर किरण मोरेले खुलाएका छन्, ‘भारतीय टिममा धोनी पर्नु सामान्य कुरा थिएन ।’
तर धोनीले आफ्नो ब्याटिङको भरमा कप्तान गांगुलीको मन जितेका थिए । र टिममा आफ्नो स्थान सुरक्षित गरे । गांगुलीले यदी धोनीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न नपठाएको भए सायद आज धोनी त्यो व्यक्ति जस्तो हुने थिएनन्, जसलाई सारा विश्बले प्रेम गरेको छ ।
(जुलाई ७ अर्थात आजको दिन धोनी ३८ बर्ष पुगेका छन् । उनको जन्म दिनमा भारतीय सञ्चार माध्यमले तयार पाएको सामाग्री नेपालीमा अनुवाद गरिएको हो ।)