काठमाडौं । एसियन गेम्सको बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर अन्जन बिष्ट एक साता मैदान बाहिर रहने भएका छन् । खुट्टामा आएको खिलको अप्रेसनको कारण अन्जन एक साता मैदानबाहिर रहने भएका हुन् ।
अन्जनको दाहिने खुट्टाको कान्छी औलामा आएको खिल बुधबार बिएण्डबि हस्पिटलमा अप्रेसन गरेर निकालिएको थियो । अब उनलाई मैदान फर्किन एक साता लाग्ने भएको छ ।
तर, अन्जनको खुट्टाको खिल डरलाग्दो नरहेको नेपाली टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जनले जानकारी दिए । अन्जनले एसियन गेम्स नगुमाउने समेत प्रशिक्षक महर्जनले बताए । खेलपाटीसंग महर्जनले भने, 'खासै ठुलो चोट हैन । सामान्य घाउ हो । खिलको आज अप्रेसन गरेको हो । दुई चार दिनमा ठिक हुन्छ । उ एक साता अभ्यासमा आउने छैनन् ।'
नेपाली टोली इन्डोनेसियामा हुने १८ औ एसियन गेम्सका लागि अहिले बिशेष तयारीमा रहेका छन् । अगष्ट १४ देखी १ तारिख सम्महुने एसियन गेम्सको लागि नेपालले २० सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा अन्जन पनि रहेका छन् ।
एसियन गेम्सको समूह चरणमा नेपाल समूह 'डी' मा परेको हो । नेपालको समूहमा जापान, भियतनाम र पाकिस्तान रहेको छ । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।