एजेन्सी । रुसमा २१ औं संस्करणको विश्वकप फुटबल जारी थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गरिरहेका थिए ।
रोनाल्डोले समूह चरणमा एक ह्याट्रिकसहित ४ गोल गरे । जसको कारण पोर्चुगलले नकआउट चरणको यात्रा तय गर्यो । नकआउट चरणमा भने पोर्चुगल उरुग्वेसंग २–१ ले स्तब्ध भयो । र, पोर्चुगल विश्वकपको अन्तिम १६ बाटै घर फर्कियो ।
सबै ठिकै थियो, रुस विश्वकप पनि चल्दै थियो । तर, अचानक विश्वकपलाई छाँयामा पार्ने समचार आयो । रोनाल्डोलाई किन्न इटालियन क्लब युभेन्टसको प्रस्ताब थियो त्यो । धेरैको लागि त्यो अनौठो, अप्रत्यारिलो समचार थियो ।
तर, समचार सत्य थियो । केहि दिन यो समचार गसिबमै सिमित बन्यो, ठोस निर्णय आएन ।
विश्वकप लगत्तै रोनाल्डो छुट्टि बनाउन सपरिवार ग्रिस पुगेका थिए । त्यहि मौकामा युभेन्ट्सले रोनाल्डो किन्न स्पेनिस जाइन्ट रियलसंग प्रस्ताव लग्यो ।
रुस विश्वकपको पहिलो सेमिफाइनल चल्दै थियो । फ्रान्स र बेल्जियम मैदानमा थिए । तर, विश्व फुटबलमा रोनाल्डोको सरुवाले पुन: बजार तातिएको थियो । आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी रोनाल्डोको सुरुवा हुँदै थियो । विश्व फुटबल बजार ताती हाल्यो ।
रोनाल्डो भेट्न युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली निजी बिमान चढेर ग्रिस नै पुगे । रोनाल्डोको लागि युभेन्टसले ११२ मिलियन युरो तिर्न तयार भयो । अन्तत, युभेन्टस रोनाल्डोलाई भित्राउन सफल भयो । रोनाल्डोले ९ बर्षे क्लब बसाईको अन्त्य गरे ।
रोनाल्डो सिरी ए क्लबमा भित्रने खबरसंगै इटालियन समर्थकहरुले एक युद्ध जितेसरी उत्सव नै मनाए । करोडौ प्रसंशक भएका रोनाल्डोलाई क्लबमा भित्राउदा कुन समर्थक पो दुखी हुन्छन् होला र ?
यता, धेरै स्पेनिस ला लिगा समर्थकको मन कुडियो पनि । तर, गाह्रो मनले विदा गरे । सायद रोनाल्डो पनि निकै भावुक भए । रोनाल्डोले रियललाई लेखेको पत्रमा त्यस्तै भाव छ । उनले लेखेका छन्, 'रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। क्लब र शहरप्रति ममा सधै कृतज्ञताको भाव रहन्छ । मलाई सद्भाव देखाउने सम्पूर्णमा आभारी छु।'
क्लबमा ९ बर्ष बिताएका क्षणहरु सम्झदै रोनाल्डोले थपेका छन्, 'म धेरैपटक क्लबको प्रतिबिम्ब बने । अब म जादैँछु तर, म मेरो जर्सी, ती उपाधि र सेन्टियागो बेर्नाबेउलाई म आफ्नै ठान्नेछु । सबैलाई धन्यवाद ! म ९ बर्ष अघि यहाँ आउँदा मैले भनेको शब्द पुन: भन्न चाहन्छु । हाला मड्रिड !'
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले अनुबन्ध सम्झौता ३ बर्ष बाँकी रहदै क्लब छाडे । रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए । तर, रोनाल्डो क्लबमा जति बसे, क्लबमा उनले सबै पाए । रोनाल्डो सफल भए । रोनाल्डोले क्लब फुटबलमा पाउने मध्ये थोरै मात्र गुमाए ।
३३ वर्षीय रोनाल्डो रियलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि ४३८ खेमा रोनाल्डोले ४५० गोल गरे । रोनाल्डोले रियल गएपछि प्रत्येक आठ सिजन ५० गोलको आँकडा पुरा गरे । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोको यो रेकर्ड तोड्न अर्को जो कोहि खेलाडीलाई गार्हो पर्न सक्छ । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी'ओर जितेका थिए ।
च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर नयाँ किर्तिमान बनाए । सन् २०१३-१४ को सिजन उक्त किर्तिमान बनाएका उनले च्याम्पियन्स लिगमा कुल १०५ गोल गर्न सफल भए । रोनाल्डोले ला लिगामा मात्र ३११ गोल गरे । रियलबाट कुल ४४ ह्याट्रिक गरेका रोनाल्डोले ला लिगामा मात्र ३४ ह्याट्रिक गर्दै नयाँ किर्तिमान कायम गरेका थिए ।
रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप,दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ । रोनाल्डोले रियलमै रहदा करियरको ६५९ औं गोल गर्न सफल भए । रोनाल्डोले रियलका लागि ४५०,म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ८५ र स्पोर्टिङ लिस्बोनको लागि ५ गोल गर्दै करियरको ६५० गोल पुरा गरेका हुन् ।
९ बर्षे नतिजा र उपलब्धि हेर्दा रोनाल्डो रियल मड्रिडका प्रतीक नै बने । युभेन्टसमा बेच्न राजी भएपछि रियलले प्रेस विज्ञप्तिमा भनेको छ, 'रोनाल्डो सधै रियल मड्रिडको एक प्रतीकको रुपमा रहनेछन । क्लब रोनाल्डोप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छ । जसले हाम्रो क्लब र विश्व फुटबलमा राम्रो छाप बनाएको छ । रियल सधै तपाईको घर हुनेछ ।'
रियलमा रहदा सबै थोक पाएको रोनाल्डो आखिर किन गए त इटालियन क्लब ? पछिल्लो समय यो प्रश्नहरु समेत आउन थालेको छ । मुख्य त रोनाल्डो स्पेनमा विविध कारणले खुशी थिएनन् भन्ने गरिन्छ ।
रोनाल्डो छलीको मुद्दामा समेत फसेका थिए । पछिल्लो समय रोनाल्डो र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको सम्बन्ध समुधुर थिएन् । यस्तोमा रोनाल्डो राम्रो अफर आएमा सरुवा हुने लक्ष्यमा थिए । इटालियन फुटबलमा एकछत्र राज गरिरहेको युभेन्टसको प्रस्ताव र आकर्षक तलबले रोनाल्डोलाई लोभ्याएको हुनसक्छ ।
यता, रियल बढ्दो उमेर र घट्दो स्टारडमका कारण रोनाल्डोलाई बेच्न चाहिरहेको थियो । निकै महत्वाकांक्षी क्लब रियल रोनाल्डोको स्थानमा नयाँ स्टार खेलाडीलाई भित्राउन लागिपरेका थिए । रियल अहिले पेरीस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा भित्राउन लागिपरेको छ । रोनाल्डो क्लबमै रहे नेयमार रियल आउन हिच्किचाउने सम्भवना बढी थियो ।
रोनाल्डोलाई क्लबमा भित्राएसंगै इटालियन क्लबलाई निकै फाइदा पुगेको छ । रोनाल्डो भित्राएसंगै ओझेलमा पर्दै गएको इटालियन सिरी ए पुन: लयमा फर्कने छ । रोनाल्डो किन्ने प्रस्ताब गरेकै दिन युभेन्टसको बजार मूल्य आकासिएको थियो ।
यता, विश्वमै सबैभन्दा बढी समर्थक रहेको रोनाल्डोले क्लब छाडेपछि रियललाई भने एक अर्थमा घाटा भएको छ । रोनाल्डो विश्व फुटबलका लागि व्यापार समेत हो ।
रोनाल्डोले रियल छाडेसंगै 'इएल क्लासिको' भिडन्त पनि सुन्य हुने पक्का भएको छ । त्यति मात्र हैन अहिलेका पुस्ताका दुई हस्ती रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त पनि देखिने छैन । यसले स्पेनिस लिग र रियलको समर्थक घट्ने छ ।