एजेन्सी । युरो टी-ट्वान्टी स्ल्याम क्रिकेटमा नेपाली खेलाडीले अवसर पाउने सम्भावना न्यून बनेको छ ।
युरो टी-ट्वान्टी स्ल्यामले एसोसियट राष्ट्रका खेलाडीका लागि कोटा नछुट्याइएसंगै नेपाली खेलाडीले प्रतियोगिता खेल्ने सम्भावना न्यून बनेको हो ।
आयोजकले सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रतियोगिताका लागि करिब २२ राष्ट्रका ७ सय खेलाडीले ड्राफ्टमा नाम दर्ता गरेको छ । प्रतियोगितामा हरेक टिमले ९ स्थानीय खेलाडी र ५ देखि ७ खेलाडी विदेशी खेलाडी अनुबन्धन गर्न पाउने छन् ।
हरेक टिमले प्लेइङ सेटमा ६ स्थानीय खेलाडी र ५ विदेशी खेलाडी अनिवार्य रुपमा खेलाउनु पर्ने नियम रहेको छ । यसको अर्थ आयोजकबाहेकका एसोसियट राष्ट्रका खेलाडीलाई टिमले लिनु पर्ने बाध्यता छैन । यदि टिमले चाहेको खण्डमा भने एसोसियट खेलाडीलाई भित्र्याउन पाउने छन् र खेलाउन समेत पाउने छन् ।
युरोपका तीन राष्ट्र आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्डसको संयक्त आयोजना हुने युरो टी-ट्वान्टी स्ल्यामको ड्राफ्ट जुलाई १९ मा हुँदैछ । प्रतियोगिताका लागि नेपालका केही खेलाडीले समेत नाम दर्ता गरेका छन् ।
ड्राफ्टमा विश्वका क्रिकेट हस्तीहरु बेन कटिङ, सर्फराज अहमद, मुस्ताफिजुर रहमान, कुशल परेरा, एञ्जेलो म्याथुज, मोहमद आमिर, फखर जमान, सहिन अफ्रिदी, कोलिन इन्ग्राम जस्ता खेलाडीले नाम दर्ता गरेको अयोजकले जनाएको छ ।
प्रतियोगिताका आइकन र मार्की खेलाडी भने यसअघि नै सार्वजनिक गरिएको छ । मार्टिन गप्टिल, ब्रेन्दन म्याकलम, इयान मोर्गन, शाहिद अफ्रिदी, शेन वाट्सन र राशिद खान आइकन खेलाडी रहेका छन् भने मार्की खेलाडीमा डेल स्टेन, जेपी डूमिनी, इमरान ताहिर, क्रिस लिन, बाबर आजम, र लुक रंकी रहेका छन् ।
युरो टी-ट्वान्टीका आइकनिक खेलाडीलाई १ लाख ३५ हजार अमेरिकी डलरको मुल्य रहेको छ । यस्तै मार्की खेलाडीलाई १ लाख १५ हजार, विदेशी खेलाडीलाई स्तर अनुसार ८० हजार, ६५ हजार, ५० हजार, ३५ हजार र २० हजार अमेरिकी डलर रहेको छ । आयोजक राष्ट्रका स्थानीय खेलाडीको लागि ३५ हजार, २० हजार र १० हजार अमेरिकी डलरको मुल्य छुट्याइएको छ ।