काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीका सदस्य रित गौतमले नेपाली उमेर समूहको क्रिकेटमा शतकको कीर्तिमान बनाएका छन् ।
ब्याट्सम्यान रित दुई फरक उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा शुक्रबार सिंगापुरविरुद्ध शतकीय इनिङ्स खेल्दै रितले कीर्तिमान बनाए ।
सिंगापुरसँगको शतकसंगै रित यू-१९ र यू-१६ क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका हुन् । सिंगापुरविरुद्ध अविजित रहेका रितले १३७ बलमा १० चौका र १ छक्काको मद्दतमा ११५ रन बनाए ।
योसंगै रितले नेपाली यू-१९ क्रिकेटमा लागेको चार बर्षे लामो शतकको खडेरी अन्त्य गरेका छन् । यसअघि अन्तिम पटक नेपालका राजु रिजालले सन् २०१५ को यू-१९ विश्वकप छनोटमा शतक बनाएका थिए । ११५ बलमा ७ चौका र १ छक्काको मद्दतमा रिजालले १ सय १ रन बनाएका थिए । रिजाल यू-१९ टोलीमा कप्तानको रुपमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
यसअघि रितले सन् २०१७ मा मलेसिया मै भएको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटमा शतक बनाएका थिए ।रितले म्यान्मारविरुद्ध ७८ बलमा १२ चौका प्रहार गर्दै १ सय ६ रन बनाएका थिए । रित नेपाली टोलीका कप्तान समेत रहेका थिए ।
उदयमान खेलाडी रितले उमेर समूहको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका छन् । १७ बर्षे रितले दुई महिना अघि भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा ५ इनिङ्समा १ अर्धशतकसहित १ सय ५६ रन बनाएका थिए ।
रित प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका नेपालका कप्तान रोहित कुमार पौडेल भन्दा ३८ रनले पछि परेका थिए ।
रित मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजनमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । दुई खेल खेलेका गौतमले १ सय २५ रन बनाएका छन् र दुवै खेलमा अविजित रहेका छन् ।