काठमाडौं । नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । यस्तै कन्नुस्वामी सतिशले २४ रन बनाए । चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न कुशल मल्लले ४ विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।
खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाए ।
सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।
जितसँगै समूह 'ए' को नेपालले २ खेलबाट ४ अंक जोड्यो । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।
यस्तै सिंगापुरले २ खेलबाट २ अंक जोड्यो । दुवै खेल गुमाएको चीन अंकविहीन बन्दै घर फर्किएको छ ।
अब नेपालले समूह 'बी' को उपविजेता र सिंगापुरले विजेतासँग खेल्नेछ ।