काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई जितका लागि ३२७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।
डेब्यु खेलाडी खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाए ।
सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।
आज सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।
सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह 'ए' मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ ।