एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटमा लिग चरणको खेलहरु बाँकी छन् । अहिलेसम्म सेमिफाइनल खेल्ने ३ टोलीको टुंगो लागेको छ ।
आयोजक ईग्ल्याण्ड, साविक विजेता अस्ट्रेलिया र भारत सेमिफाइनल प्रवेश गरिसकेका छन् । अन्तिम एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।
भोली (शुक्रबार) हुने खेलले पाकिस्तान र बंगलादेशबीचको खेलको नतिजाले सेमिफाइनल खेल्ने अन्तिम राष्ट्रको टुंगो लाग्ने छ ।
नकआउट चरण पुग्ने दौडमा न्युजिल्याण्ड र पाकिस्तान रहेका छन् । न्युजिल्याण्डले लिग चरणका सबै खेल खेलिसकेको छ । उसको ९ खेलबाट ११ अंक छ । र, न्युजिल्याण्ड अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
सेमिफाइनल दौडमा रहेको पाकिस्तानले एक खेल खेल्न बाँकी छ ।
पाकिस्तान ८ खेलमा ९ अंक सहित पाँचौ स्थानमा छ ।
सेमिफाइनल प्रवेशको गणितिय सम्भावना बोकेको पाकिस्तानलाई शुक्रबार हुने बंगालदेशबिरुद्दको खेल महत्वपुर्ण छ ।
अन्तिम चारमा पुग्न पाकिस्तानलाई जितले मात्र पुग्ने छैन, नेट रनरेटमा समेत माथि आउनुपर्नेछ ।
जितले पाकिस्तान र न्युजिल्याण्डको समान अंक हुने भएकाले पाकिस्तानलाई फराकिलो जित आवश्यक छ । नेट रनरेट हेर्दा पाकिस्तान भन्दा न्युजिल्याण्ड निकै माथि छ । सोही कारण पाकिस्तानले बंगलादेशविरुद्व चमत्कारिक नतिजा आत्मसाथ गर्नुपर्नेछ ।
न्युजिल्याण्डको नेट रन रेट - 0.175 रहेको छ भने पाकिस्तानको रनरेट -0.792 रहेको छ ।
न्युजिल्याण्ड सेमिफाइनलको लगभग नजिक छ । तर न्युजिल्याण्डलाई नेट रनरेटमा जित्न पाकिस्तानले ठुलो अन्तरको जित निकाल्नुपर्ने छ ।
लन्डनस्थित लर्ड्समा हुने खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै कम्तिमा ३ सय ५० रन बनाउनु पर्ने छ । र बंगलादेश माथि ३ सय ११ भन्दा धेरै रन अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।
यसको अर्थ पाकिस्तानले पहिले फिल्डिङ गर्नु परेमा पाकिस्तान विश्वकपबाट बाहिरिने लगभग तय छ ।