एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ३१२ रनको फराकिलो लक्ष्य दिएको छ ।
लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो ।
वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वाधिक ७७ रनको इनिङ्स खेले । ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै इभिन लुइस र निकोलस पोरनले समान ५८ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जासन होल्डरले ४५ र सिम्रन हिट्मायरले ३९ रनको योगदान गरे ।
अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १/१ विकेट हात पारे ।
दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । सोही कारण खेलको नतिजाले सेमिफाईनलको समिकरणमा कुनै फेरबदल गर्ने छैन ।
लिग चरणको अन्तिम खेल खेल्दै गरेका यी दुई राष्ट्र समान ८ खेल खेलेका छन् । जित बिहिन रहेको अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ ।
वेष्ट इण्डिजले ६ खेलमा हार व्यहोर्दा १ खेलमा जित निकालेको छ । ३ अंक हात पारेको वेष्ट इण्डिज अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।