काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ अलराउण्डर सोमपाल कामीले पहिलो पटक क्यानाडामा आयोजना हुने ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग खेल्दैछन् ।
दोस्रो संस्करणको यस लिगमा सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् । ग्लोबल टी-ट्वान्टीको ड्राफ्टबाट सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको थियो ।
सोमपाल विदेशी फ्रेन्चचाइज लिग खेल्ने दोस्रो नेपाली खेलाडी समेत हुन् । यसअघि नेपालबाट सन्दीप लामिछानेले मात्रै खेल्दै आएका छन् । सन्दीप यस पटक टोरन्टो नेसनल्सबाट खेल्नेछन् ।
क्यानाडाको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगलाई एसोसियट राष्ट्रको सबैभन्दा ठुलो फ्रेन्चचाइज लिग मानिन्छ । कारण हो, उसले भित्र्याउने खेलाडी र बजेट ।
लिगमा हरेक टिमले टेष्ट राष्ट्रका ३ मार्की खेलाडी रोज्न पाउनेछन् । साथै टिमले थप ४ टेष्ट राष्ट्रका खेलाडी अनुबन्धन गर्न पाउँछन् । यस्तै ५ एसोसियट राष्ट्रका खेलाडी टिममा राख्न पाउदा आईसीसीको अमेरिका क्षेत्रका एक खेलाडी अनिवार्य राख्नु पर्ने हुन्छ । त्यस्तै ५ क्यानडाका खेलाडीसहित टिममा कुल १७ खेलाडी राख्न पाइन्छ ।
यस्तै टिमको सुरुवाती-११ मा मार्की खेलाडीसहित ५ खेलाडी टेष्ट राष्ट्र, ३ एसोसियट, २ क्यानाडा र आईसीसीको अमेरिका क्षेत्रका १ खेलाडी खेलाउनु पर्नेछ ।
यस्तोमा सोमपालले पहिलो सिजन नै डेब्यु गर्ने सम्भावना बलियो रहेको छ । सोमपाल एसोसियटबाट हक्सको प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
सोमपाल रहेको टिममा एसोसियटबाट युएईका ब्याट्सम्यान साइमन अनावर, युएईका ब्याट्सम्यान रामिज सहजाद, नेदरल्याण्ड्सका फास्ट बलर पाउल भान मिक्रिन र अमेरिकाका सन्नी सोहेल रहेका छन् ।
सोमपालको टिम हेर्दा उनी तीब्र गतिको बलिङसहित अलराउण्डर प्रदर्शन गर्न सक्ने एसोसियट राष्ट्रका एक्ला खेलाडी हुने छन् । टेष्ट राष्ट्रका क्रिस लिन र ड्वेन ब्राभो रहेका कारण सोमपाललाई केहि मुस्किल भने हुनेछ । तर,एसोसियट राष्ट्रको कोटाबाट सोमपालले स्थान बनाउने सम्भावना बलियो रहेको छ ।
आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको कारण सोमपाल र सन्दीपले सुरुवाती २ खेल भने गुमाउने छन् । सोमपालको टिम हक्सले जुलाई २७ गते मोन्ट्रेल टाइगर्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै सिंगापुरमा गर्ने प्रदर्शनबाट पनि क्यानाडाको लिगमा सोमपाल प्लेईङ सेटमा पर्ने नपर्ने निर्भर हुनेछ ।