एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेट यसै महिना आयोजना हुँदैछ । आगामी मे ३० बाट सुरु हुने विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकपको मिति नजिक आईरहेको बेला अघिल्ला विश्वकपमा बनेका रोचक तथ्य र कीर्तिमानको प्रसङ्ग उठ्न थालेको छ । विश्वकप नजिकिदै गर्दा अघिल्ला विश्वकपमा बनेको चार रोचक तथ्यको वर्णन गरेका छौं ।
१. लगातार ४ शतक
श्रीलंकाका पुर्व कप्तान कुमार सांगाकारालाई सफल खेलाडीको रुपमा लिने गरिन्छ । सांगाकाराले अन्तिम विश्वकपमा ४ शतकको मद्दतले ५ सय ४१ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थान ओगटेका थिए ।
अन्तिम संस्करणको विश्वकपमा सांगाकाराले लगातार ४ खेलमा ४ शतक प्रहार गरेका थिए । उनले बंगलादेश, इङ्ल्याण्ड, अष्ट्रेलिया र स्कटल्याण्डविरुद्धको खेलमा शतक प्रहार गर्दै रेकर्ड कायम गरे । तर, सांगाकाराले श्रीलंकालाई सेमिफाइनलमा पुर्याउन असफल भए ।
२. विश्वकप जिताउने युवा कप्तान
लिजेण्ड खेलाडी कपिल देव भारतलाई पहिलो पटक विश्वकप दिलाउने कप्तान हुन् । उनलाई अझै विश्वका उत्कृष्ट अलराउण्डरको रुपमा हेरिने गरिन्छ ।
सन् १९८३ मा भारतलाई विश्वकप जिताउदा कपिल मात्र २४ बर्षका थिए । हालसम्मका विश्वकप विजेता कप्तान मध्ये उनी सबैभन्दा कम उमेरका कप्तान हुन् । कपिल देवले सन्यास घोषणा गरेपछि भारतलाई उनको जस्तै खुबी भएको खेलाडी पाउन २५ वर्ष कुर्नु परेको थियो ।
३. धेरै पटक विश्वकप खेल्ने खेलाडी
पाकिस्तानका जाभेद मियादतलाई क्रिकेट पण्डितहरुले पाकिस्तान तथा विश्वका उत्कृष्ट क्रिकेटर मध्येको एक रहेको बताउँछन् । पाकिस्तानका पुर्व कप्तान मियादतले क्रिकेटमा २१ वर्ष बिताएका थिए । मियादतको ४ सय ३७ रनको मद्दतले पाकिस्तानले पहिलो पटक सन् १९९२ मा विश्वकप जितेको थियो ।
६ पटक विश्वकप खेलेका उनले सन् १९९६ मा अन्तिम विश्वकप खेलेका थियो । मियादत सर्वाधिक धेरै विश्वकप खेल्ने पहिलो खेलाडी हुन् । तर,भारतका लेजेण्ड सचिन तेन्दुलकरले उनको कीर्तिमान बराबरी गरिसकेका छन् ।
४. सर्वाधिक सफल राष्ट्र
विश्वकपको ११ औं संस्करण सकिदा २० राष्ट्रले मात्र सहभागीता जनाएका छन् । जसमा ५ राष्ट्रले मात्र विश्वकपको उपाधि हात पारेका छन् ।
विश्वकप क्रिकेटमा अष्ट्रेलिया ५ पटकको विश्व विजेता हो । र, अष्ट्रेलिया विश्वकप क्रिकेट जित्ने सर्वाधिक सफल राष्ट्र हो ।
अष्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा लगातार ३ पटक विश्वकप जितेको थियो । पहिलो पटक सन् १९८७ मा विश्वकप जितेको अष्ट्रेलिया गत संस्करण (सन् २०१५) को उपाधि ५ औं पटक उपाधि जितेर कीर्तिमान बनाएको थियो ।
यस्तै वेष्ट इण्डिज र भारतले २-२ विश्वकप जित्दा पाकिस्तान र श्रीलंकाले १-१ पटक उपाधि जितेका छन् ।