एजेन्सी । क्वेटा ग्लाडीयटर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीले ८ विकेटले हराउँदै क्वेटाले उपाधि जितेको हो ।
कराँचीमा जाल्मीले दिएको १३९ रनको लक्ष्य क्वेटाले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
क्वेटाको जितमा अहमेद शेहजादले अविजित ५८ रनको योगदान दिए । यस्तै रिली रोश्वोले अविजित ३९ रन जोड्दा अशन अलीले २५ रन बनाए । सेन वाट्सन ४ रनमा आउट भए । जाल्मीका वाहब रियाजले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जाल्मीले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । जाल्मीका लागि उमार अमिनले ३८ तथा काम्रन अकमलले २१ रन जोडे । शोहब मसुदले २० तथा डरेन सामीले १८ रन बनाए ।
क्वेटाका मोहमद हसनेनले ३ तथा ड्वाने ब्राभोले २ विकेट लिए ।
प्रतियोगितामा प्लेयर अफ दि पीएसएल र बेष्ट ब्याट्सम्यान क्वेटाका सेन वाट्सन चुनिए ।