काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १५ औं स्थानमा रहन सफल भएको हो । नेपालले १५२ अंक पाएको छ।
नेपाल गत महिनाबाट आईसीसीको वरियतामा पर्न थालेको हो । एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २-१ ले जितेको थियो ।
टी-ट्वान्टी वरियतामा भने नेपाल १४ औं स्थानमा रहेको छ ।
नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेको छ ।
एकदिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन डि कक चौथो दक्षिण अफ्रीकाकै कप्तान फाफ डु प्लेसीस पाँचौ स्थानमा रहेका छन् ।
बलिङतर्फ भारतका जस्प्रित बुम्रा शीर्ष स्थानमा रहेका छन् । यस्तै न्युजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रो,अफगानिस्तानका राशिद खान तेस्रो, दक्षिण अफ्रिकाका इमरान ताहिर चौथो र कागीसो रबाडा पाँचौ स्थानमा रहेका छन् ।
अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहदा बंगलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्यान्डका मिचेल स्टाननर पाँचौ स्थानमा रहेका छन् ।
तस्विर:रमण सिवाकोटी