एजेन्सी । टेष्ट क्रिकेटको बल एकै किसिमको बनाउने तयारीमा भारतीय क्रिकेट टोलीका पुर्व सदस्य सुनील गावस्करले असन्तुष्टि जनाएका छन् ।
विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टेष्ट क्रिकेटको बल एकै किसिमको बनाउने तयारी गरेपछि गावस्करले असन्तुष्टि जनाएका हुन् ।
पुर्व क्रिकेटर गावस्करले पिच, ब्याट र मैदान फरक हुने कारण बल एकै किसिमको बनाउन नमिल्ने समेत बताएका छन् ।
'एमसीसीले टेष्ट क्रिकेटको बलको स्तरउन्नति गर्ने भन्दै प्रस्ताब अघि बढाएको छ । यदि यस्तो हुने हो भने पिच, ब्याट लगायतका सबै कुरा सोहि स्तरको बनाउनु पर्छ,' गावस्करले भने, 'क्रिकेट खेल्नुमा कुनै ठुलो कुरा छैन् । बाहिर गएर खेल्दा फरक कन्डिसन हुन्छ ।'
आईसीसीले विश्व टेष्ट च्याम्पियनसिपबाट एकै किसिमको बल प्रयोगको लागि तयारी गरिरहेको छ । क्रिकेट बल र टेष्ट क्रिकेटको केहि नियम परिवर्तन गर्ने एमसीसीले एक कमिटि समेत गठन गरिसकेको छ ।
तर, गावस्करले सबै देशको क्रिकेट मैदान एकै किसिमको बनाउन नसकिने बताउँदै बल फरक हुनु पर्ने बताए ।
'व्यक्तिगत रुपमा के सोच्छु भने, क्रिकेट भनेकै हरेक खेलमा फरक स्थितिको सामना गर्नु हो,' गावस्करले थपे, 'तपाईए हरेक गल्ली गल्लीमा, सहर सहरमा वा देश विदेशमा फरक कन्डिसन पाउनु हुन्छ । क्रिकेट र उत्कृष्ट खेलाडी त्यो हो जसले विदेशी भुमि जहाँको कन्डिसनसंग परिचित छैन । त्यहाँ उत्कृष्ट खेल्न सक्नु हो ।'
हाल भारतमा एसजी बल, इंल्याण्ड र वेष्ट इण्डिजमा डुक्स र दक्षिण अफ्रिकामा काकाबुरा बल प्रयोग हुँदै आएको छ ।
यस्तै गावस्करले एमसीसी एक क्रिकेट क्लब रहेको तर एमसीसीले भनेको सबैले मान्ने गरेको बताए ।