एजेन्सी । दक्षिण अफ्रीकाका अलराउण्डर जेपी डुमिनीले आईसीसी विश्वकप क्रिकेटपछि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
३४ बर्षीय अलराउण्डर डुमिनीले शुक्रबार विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट यसै बर्षको मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ । उक्त विश्वकपपछि डुमिनीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने छन् ।
एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेपनि डुमिनीले अन्तराष्ट्रिय र घरेलु टी-ट्वान्टी प्रतियोगिता भने खेल्ने बताएका छन् ।
'जब क्रिकेट छाड्ने कुरा आउछ, यस्तो निर्णय लिन निकै गारो हन्छ । तर, मलाई यो नै मेरो लागि सहि समय जस्तो लाग्छ । तर, म अन्तराष्ट्रिय र घरेलु टी ट्वान्टी प्रतियोगितामा भने सहभागी हुने नै छु,' डुमिनीले सन्यास घोषणा गर्दै भनेका छन्, 'अब म क्रिकेटमा भन्दा पनि आफ्नो परिवारसंग समय बिताउन चाहन्छु जो मेरो पहिलो प्राथामिकता रहेको छ ।'
डुमिनीले १९३ एकदिवसीय क्रिकेट खेलेका छन् । जसमा उनले ५ हजार ४७ रन बनाएका छन् । डुमिनीले ६८ विकेट लिएका छन् ।
सन् २०१९ को विश्वकप डुमिनीको तेस्रो विश्वकप हुनेछ ।
डुमिनीले टेष्ट क्रिकेटमा सन् २०१७ बाटै सन्यास लिएका थिए । उनले ४६ टेष्ट क्रिकेट खेलेका थिए ।