काठमाडौं । भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय टिमसँग नेपालले खेल्ने टी ट्वान्टी सिरिजको मिति सार्वजनीक गरेको हो ।
नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्नेछ । सिरिजका सबै खेल गुजरातमा हुनेछ ।
मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी ट्वान्टी सिरिजको सुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् ।
क्यान म्यानेजर बिनोद दासले भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालको राष्ट्रिय टिमले सिरिज खेल्न लागेको बताए ।
'नेपालको राष्ट्रिय टिमलेनै सिरिज खेल्ने हो । भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले सिरिज खेल्नेछ ।' दासले खेलपाटीसँग भने ।
रणजी ट्रफी भारतको प्रिमियर घरेलु पहिलो क्लासको क्रिकेट प्रतियोगिता हो । जुन प्रतियोगिता भारतीय क्रिकेट बोर्डले हरेक वर्ष आयोजना गर्ने गर्छ । जसमा क्षेत्रीय र राज्य स्तरका क्रिकेट टिम सहभागी हुने गर्छन् ।
नेपालले खेल्न लागेका गुजरात र बरोडा दुवैले भारतमा रणजी ट्रफी खेल्दै आएका छन् ।
नेपालले भारतीय टिमसँग यसअघि मैत्रीपूर्ण सिरिजको प्रयास गर्दै आएको थियो । फ्रेन्ड्ससिप कप नाम दिईएको यो सिरिज क्यानको पहलमा सम्भव भएको हो ।
भारतीय क्रिकेटसँग जोडिन नेपालले यसअघिदेखिनै प्रयास गर्दै आएको थियो । भारतीय टिमसँग उसैको मैदानमा सिरिज खेल्ने प्रस्ताव नेपालले राख्दै आएको थियो ।
भारत विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो । भारतीय टिमसँग खेलिने सिरिजले नेपाली क्रिकेटको विकास र खेलाडीको एक्सपोजरमा महत्वपुर्ण योगदान पुग्ने विश्वास क्यानको छ ।
