काठमाडौं । भारतीय क्रिकेट कप्तान रोहित शर्माले फाइनल खेलमा आफ्नो टिमले राम्रो प्रर्दशन गर्न नसकेको बताएका छन् ।
विश्वकपको फाइनलमा अष्ट्रेलियासँग हारेपछि कप्तान शर्माले फाइनलको दिन आफुहरुले राम्रो गर्न नसकेको उल्लेख गरेका हुन् ।
‘नतिजा हाम्रो अनुकुल रहेन । हामीले राम्रो पनि खेल्न सकेनौं । तर मेरो टिमप्रति गर्व छ । जसरी हामीले पहिलो खेलबाट खेलेका थियौं । फाइनलको दिन हाम्रो थिएन । हामीले सबैतिरबाट कोशिश गरेका थियौं । तर यो हुन सकेन ।’ उनले भने ।
एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आईतबार भारतीय टिमले अष्ट्रेलियासँग हार ब्यहोरेको छ ।
‘इमान्दार रुपमा भन्नु पर्दा २०–३० रन बढी बनेको भए राम्रो हुने थियो । हामीलाई सम्भव हुनेसम्म ब्याटिङलाई लैजानुपर्ने आवश्यकता थियो । जब केएल राहुल र विराट कोहलीले ब्याटिङ गरेका थिए, हामीले २७०–२८० को स्कोर देखिरहेका थियौं । तर हामीले लगातार विकेट गुमायौं । हामीले समझदारी बनाउनै सकेनौं । उनीहरुले तीन विकेट झरेपछि राम्रो समझदारी गरे ।’ रोहितले थपे ।
‘हामीसँग बोर्डमा २ सय ४० रन थियो । हामीले जतिसक्दो विकेट लिन जरुरी थियो । त्यो हामीले लियौं पनि ।’ रोहितले भने, ‘त्यसपछि सबै श्रेय हेड र मार्नुसलाई जान्छ । उनीहरुले ठुलो समझदारी गरे । उनीहरुले पुरै खेल आफुसँग लगे । तर हामीले सक्ने सबै प्रयास गर्यौ । मलाई लाग्छ, प्रकाशले ब्याटिङलाई राम्रो सहयोग गर्यो ।’