काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिगमा पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गर्दै मेलबर्नले पहिलो जित निकालेको हो ।
सिड्नीमा घरेलु टोलीले दिएको १३१ रनको लक्ष्य मेलबर्नले १४ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मेलबर्नको लागि पिटर हान्ड्सकपले अविजित ७० रन जोडे । यस्तै निक लार्केनले २० रन जोडे । सिड्नीका बेन्जामिन जेम्सले ३ विकेट लिए ।
यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन जोड्दै मेलबर्नलाई मध्यम लक्ष्य दिएको थियो ।
सिड्नीका लागि जोर्डन सिल्कले अविजित ४१ रन जोडे । यस्तै सिन एब्बोटले २२ रन जोड्दा ड्यानियल हुगेसले २० रन जोडे ।
सिड्नीलाई सस्तैमा समेट्न ज्याक्सन कोलेमनले ३ विकेट लिए । यस्तै सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाको नाममा पनि २ विकेट रह्यो ।
जितसंगै मेलबर्नले ३ खेलमा २ अंक जोडेको छ । जितसंगै मेलबर्न लिगको चौथो स्थानमा उक्लिएको छ । सिड्नी २ अंक जोडेर सातौं स्थानमा छ ।
यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो ।