काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणको मिति एक साता पछाडी सारिएको छ । माघको तेस्रो साता सञ्चालन गर्ने तय भएको प्रतियोगिता एक साता पछाडी सार्ने निर्णय गरिएको हो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार प्रतियोगिता अब माघ २६ देखि फागुन ११ गतेसम्म सञ्चालन गरिनेछ ।
नेपाल र संयुक्त अरब ईमिरेट्स युएईबीच हुने अन्तराष्ट्रिय सिरिजलाई लक्षित गर्दै प्रतियोगिताको मिति एक साता पछाडी सारेको आयोजकले जानकारी दिएको छ ।
‘नेपालले युृएईसंग अन्तराष्ट्रिय सिरिज खेल्दा प्रतियोगिता प्रभावित हुने देखिएर मिति सारिएको हो ।’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले खेलपाटीसंग भने ।
‘प्रतियोगितासंगै खेलाडी दर्ता र लिलामी बिक्री (अक्सन) समेत एक सात पछाडी सर्ने छ ।’ उनले थपे ।
अध्यक्ष शाही अनुसार प्रतियोगिताको अक्सन पुस २२ गते हुनेछ ।
खेलाडी दर्ता प्रक्रिया एक हप्ता अगाडीनै सुरु गरिएको थियो । अब पुस २० गते सम्म खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न पाउनेछन् ।
तेस्रो संस्करणमा खेलाडीले आफ्नो न्युनतम मुल्य राखेर खेलाडी दर्ता प्रक्रियामा आफुलाई सहभागि गराउनेछन् । सोही आधारमा अक्सनको प्रक्रिया अघि बढ्ने आयोजकले जनाएको छ ।