एजेन्सी । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले जित निकालेको छ । बिहिबार बेलुका भएको दोस्रो खेलमा बंगलादेशले ३६ रनको जित निकालेको हो ।
ढाकामा बंगलादेशले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज १९ ओभर २ बलमा अलआउट हुँदै १७५ रनमा समेटियो ।
वेष्ट इण्डिजका लागि रोभम्यान पावेलले ५० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै वेष्ट इण्डिजका साई होपले ३६ तथा केमो पावेलले २९ रन बनाए ।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्न कप्तान शाकिब अल हसन एक्लैले मात्र २१ रन खर्चेर ५ विकेट लिए । यस्तै मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभरमा ४ विकेट गुमाएर २११ रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले ६० रनको योगदान गरे ।
यस्तै मोहमद महमुदउल्लाले अविजित ४३ रन जोड्दा कप्तान हसनले अविजित ४२ रन जोडे । सौम्य सरकार ३२ रनमा आउट भए । वेष्ट इण्डिजका शेल्डोन सेनले २ विकेट लिए ।
यो जितसंगै बंगलादेशले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा १ - १ को बराबरी गरेको छ । अब दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल शनिबार हुनेछ ।