काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाईनलमा प्रवेश गरेपछि भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेषावकरले फाइनल खेल्न आफ्नो टिम आतुर रहेको बताएका छन् ।
टियु क्रिकेट मैदानमा बिहिबार भएको दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको थियो ।
काठमाडौंलाई पराजित गरेपछि कप्तान शरदले भने, 'मैले आफुलाई भाग्यमानी नै ठानेको छु । किनभने मेरो टोलीका सबै खेलाडी जोश र जागरले भरिएका छन् । फाइनल खेलमा पनि त्यो जोस देख्न पाईनेछ ।'
अब फाइनलमा भैरहवाले ललितपुरसंग शनिबार प्रतिस्पर्धा गर्नेछ । फाइनलमा अघिल्ला खेलमा रहेको गल्तिहरु पनि सुधार गर्ने कप्तान शरदले बताए ।
'हामीले अघिल्ला खेलमा जस्तो तयारी गरेका थियौं । फाईनलमा पनि त्यहीँ हुनेछ । तर, फाइनलमा हामी फिल्डिङमा केहि सुधार गर्नेछौ,' उनले भने ।
यस्तै शरदले फाइनल प्रतिस्पर्धी ललितपुर कमजोर टिम नरहेको बताए ।
भैरहवा साबिकको उपविजेता समेत हो । गत सिजन भैरहवा विराटनगर वारिवर्ससंग पराजित भएको थियो ।