काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि अहिले दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ ।
टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । रोहन मुस्तफाको काठमाडौंले अहिले ब्याटिङ थालेको छ ।
आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुई टोलीबीचको विजेताले फाइनलमा स्थान बनाउनेछन् ।
दुवै टोली जित निकाल्दै शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्ससंगको भेट पक्का गर्न चाहन्छ । पहिलो क्वालिफायरमा जित निकाल्दै ललितपुर भने फाइनलमा पुगिसकेको छ ।
ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । ललितपुरसंग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । र, काठमाडौं भैरहवालाई हराएर फाइनलमा ललितपुरसंग बदला लिन चाहन्छ ।
यता, साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
भैरहवा काठमाडौंलाई हराएर फाइनलमा पुग्न चाहन्छ । यस्तै काठमाडौंविरुद्ध भैरहवा लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।