काठमाडौं । राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज (बिहिबार) हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सले प्रतिस्पर्धा गर्दैछन् । र, काठमाडौं र भैरहवाबीचको खेल बिहान ११:३० मा सुरु हुनेछ ।
दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौं र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु हुनेछ । दुई टोलीबीचको विजेताले फाइनलमा स्थान बनाउनेछन् ।
बुधबार दुवै टोली जित निकाल्दै शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्ससंगको भेट पक्का गर्न चाहन्छ । पहिलो क्वालिफायरमा जित निकाल्दै ललितपुर भने फाइनलमा पुगिसकेको छ ।
ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । ललितपुरसंग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । र, काठमाडौं भैरहवालाई हराएर फाइनलमा ललितपुरसंग बदला लिन चाहन्छ ।
यता, साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
भैरहवा काठमाडौंलाई हराएर फाइनलमा पुग्न चाहन्छ । यस्तै काठमाडौंविरुद्ध भैरहवा लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।