काठमाडौं । नेपाल आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।
नेपालले एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि स्थान बनाएको छ ।
इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू-२३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोली हुनेछन् ।
नेपाल र युएईले फाइनलमा स्थान बनाउँदै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आइतबार कुवेत र ओमानबीच हुने तेस्रो स्थानको विजेता टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।
एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतसँगको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
उता, दोस्रो सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै युएईले फाइनलमा स्थान बनाएको छ । सोमबार नेपाल र युएईबीच उपाधिको लागि भिड्नेछन् ।
विजेता टोलीले आगामी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।
नेपालले पछिल्लो पटक बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा खेलेको थियो ।
उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
नेपालले हङकङलाई ४० रनले हराएको थियो । नेपालले २०१३ र २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ मा भने नेपाल छनोट हुन सकेको थिएन ।